Donate for Good Cause

दसैंमा ४३ अर्ब ६८ करोड रुपैयाँ रेमिटेन्स भित्रियो

दसैंमा विभिन्न मुलुकबाट ४३ अर्ब ६८ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ । दसैंको फूलपातीको एक महिनाअघि वाणिज्य बैंकहरूले राष्ट्र बैंकमा ४२ करोड अमेरिकी डलर बिक्री गर्न ल्याएका थिए । यही डलरलाई आधार मान्दै ४३ अर्ब ६८ करोड रेमिटेन्स भित्रिएको राष्ट्र बैंकले अनुमान गरिएको हो ।राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष र यस आवको यसै अवधिमा आएको अमेरिकी डलर बिक्री प्रवृत्ति हेर्दा रेमिटेन्स १३ करोड अमेरिकी डलरले घटेको छ । राष्ट्र बैंकका अनुसार दशैंमा अन्य समयभन्दा बढी रेमिटेन्स भित्रने भए पनि यस वर्ष वृद्धिदर घट्ने अनुमान गरिएको छ । गत साउनमा ५५ अर्ब ५५ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो । साउनमा भित्रिएको रेमिटेन्स गत आर्थिक बर्षको सोही अवधिको तुलनामा सात प्रतिशतले बढी हो । अघिल्लो वर्षको साउनमा भने यस्तो वृद्धिदर दुई दशमलव पाँच प्रतिशतमात्र थियो । गत आर्थिक बर्षको साउनभन्दा यस वर्षको साउनमा रेमिटेन्स वृद्धिदरमा सुधार आए पनि दसैं अघिको एक महिना घटेको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको असार मसान्तसम्म करिब चार लाख कामदारबाट ६ खर्ब ९५ अर्ब रेमिटेन्स नेपाल भित्रिएको थियो । नेपालमा रेमिटेन्स भित्र्याउने पहिलो कम्पनी आईएमई रेमिटले २५ वटा देशमा कार्यालय स्थापना गरेर सेवा प्रदान गरिरहेको छ । नेपालमा मलेसिया, कतार, साउदी अरब, अमेरिका, अस्ट्रेलियालगायत २० देशबाट बढी मात्रामा रेमिटेन्स भित्रिन्छ ।

Comments