Donate for Good Cause

आँखामा अानो आउने कारण यस्तो

आँखा महत्वपूर्ण र संवेदनशील अंग हो । आँखाको हेरचाह र सरसफाइमा अलिकति पनि लापरबाही हुने बित्तिकै विभिन्न किसिमका समस्या देखापर्छन् । सुरुसुरुमा सामान्य त हो नि भनेर समयमै उपचार नगर्दा पछि जटिल समस्या निम्तिन्छ ।आँखाका विभिन्न समस्या मध्ये एउटा हो, ‘स्टाई’ अर्थात् ‘आनो’, जुन ‘स्टेफिलोकोकस ब्याक्टेरिया’ को संक्रमणका कारण हुन्छ ।

परेला भएको ठाँउ अर्थात् आँखाको ढकनीमा भएको बोसोयुक्त ग्रन्थिमा जीवाणुको संक्रमण भएपछि पीडादायक गाँठो बन्छ । यो आँखाको माथिल्लो र तल्लो दुवै भागमा आउन सक्छ । यस्तै, आँखाको ढकनी बाहिर वा भित्र पनि आउन सक्छ ।

आनो एक प्रकारको घाउ-खटिरा हो । यो परेलाको रौं उम्रिने ठाउँको प्वालमा ब्याक्टेरियाको संक्रमणले गर्दा हुन्छ । बुझ्नेगरी भन्नुपर्दा, परेलाको जरो वा परेलाको तेल ग्रन्थिमा पिप जम्नु नै आनो आउनु हो । बुढापाकाले भनेजस्तो ‘झुट बोल्दा आनो आउँछ’ भन्ने कुरा चाहिँ गलत हो ।

सामान्यता यसले आँखाको दृष्टिमा कुनै खराबी नगरे पनि कसैमा भने बारम्बार दोहोरिएर दुःख दिने गर्छ । परेलामा चाँयाको समस्या, मधुमेह, आँखा धेरै मिचिरहने बानीजस्ता कारणले आनो निस्कने गर्छ । यो जुनसुकै उमेर समूहका मानिसलाई हुने समस्या हो । विशेषगरी बालबालिकामा आनो बढी देखिने गर्छ ।

लक्षण

  • आँखा चिलाइरहनु
  • आँखाको परेलाका बाहिरी भाग सुन्निनु  जराको भागमा खटिरा आउनु
  • आँखाको ढकनी विस्तारै सुन्निदै गई दुख्न सुरु हुनु
  • उक्त खटिरा रातो हुनु
  • आँशु धेरै आउनु
  • आँखाबाट चिप्रा निस्किनु
  • घाममा हेर्न मुस्किल पार्नु आदि ।

उपचार

आँखामा आनो आएपछि घरमै उपचार गरी निको पार्न सकिन्छ । जसका लागि सफा नरम कपडा पानीमा भिजाएर दिनमा ३-४ पटक सेक्नुपर्छ । यसरी सेक्दा पीडा कम हुन्छ  आँखाको वरिपरि सफा गर्न सजिलो हुन्छ । यसरी सेक्दा बन्द रहेका ग्रन्थि लाई खुलाउन पनि मद्दत मिल्छ ।

आँखालाई सधैँ सफा राख्नुपर्छ तर बेच्नु हुँदैन घरमा आमालाई निचोर्न पनि सकिन्छ। आनो आएको बेला आँखाको मेकअप गर्नु हुँदैन। चिकित्सकको सल्लाहबिना बजारमा पाउने औषधिको प्रयोग गर्नुहुँदैन। अत्याधिक दुखेमा दुखाइ कम गर्न ट्याब्लेटहरुको प्रयोग गर्न सकिन्छ ।

आँखाको हेरचाह गर्दा पनि सन्चो भएन भने आँखा रोग विशेषज्ञको सल्लाह बमोजिम औषधी सेवन गर्नुपर्छ। त्यस्तै आँखा धेरै सुन्नियो, धेरै दुख्यो, पिप वा रगत निस्किन थाल्यो, ज्वरो आयो भने तुरुन्त स्वास्थ्य संस्था गएर जचाउनुपर्छ।

बच्ने उपाय तथा रोक्थान

हामीले आँखा सधै सफा पानीले धुनुपर्छ। आँखा चिलायो भनेर मिच्नु हुँदैन। त्यसरी मिच्दा हातमा भएको वा परेलामा रहेको फोहोरले संक्रमण हुनसक्छ। फोहोर हातले आँखा छुनु हुँदैन। आँखा संवेदनशील अंग भएकाले मेकअपका सामाग्री जथाभावी प्रयोग गर्नु हुँदैन। कमसल सामानको प्रयोगले आँखामा इन्फेक्सन हुनसक्छ। कन्ट्रयाक लेन्स प्रयोग गर्नेले लेन्स लगाउँदा र निकाल्दा हात राम्रो धुनुपर्छ।

आनो बालबालिकामा बढि देखिन्छ। तर बारम्बार दोहोरिएको खण्डमा आँखा जाँच गराउनुपर्छ। यसरी आनो बारम्बार आउनु भनेको बालबालिकाको दृष्टिसंग सम्बन्धित समस्या पनि हुनसक्छ। बुढापाकामा आनोको समस्या देखिए मधुमेहको जाँच गराउनुपर्छ। दृष्टिमा समस्या भए समयमै परिक्षण गरेर चस्मा लगाउनुपर्छ। धुलो, धुँवा र फोहोरबाट आँखालाइ सुरक्षित राख्नुपर्छ।

समयमै उपचार गरिएन भने आनो फुटेर संक्रमण भइ थप आँखा सम्बन्धी समस्या उत्पन्न हुने भएकाले चिकित्सकको सल्लाह लिनु पर्दछ।

अभिक ज्योति

आँखा विशेषज्ञ

Comments